Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

२३औं आहा रारा पोखरा गोल्डकप आजदेखि, प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने


सारांश

२३औं आहा रारा पोखरा गोल्डकप आजदेखि, प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने
images

काठमाण्डौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औँ संस्करणका खेलहरूको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिशहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रूपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एप 'डिस होम गो'मा पनि हुने छ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । 

नौवटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदै छन् । उद्घाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमनेसामने हुने छन् ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुने छ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुने छ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने छ ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij