सारांश
काठमाडौं । ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
आर्मी त्यतिमै रोकिएन । खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोलरक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।