सारांश
काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।
नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए ।
क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले दुई/दुई विकेट लिए । कप्तान साद र दिलप्रित बज्वाले समान एक विकेट हात पारे ।
यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो ।
नेपालका कप्तान पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए । नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए ।
जितसँगै नेपालले तीन खेलको शृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ । अब यी दुई टिमबीचको अन्तिम खेल आउँदो सोमबार हुनेछ ।