सारांश
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । योसँगै नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले अविजित ५८ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक बनाएका सिंहले ९२ बलमा सात चौका प्रहार गरे ।
नेदरल्यान्ड्सविरुद्ध फितलो बनेका नेपाली बलरमध्ये ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४२ रन खर्चिए । दीपेन्द्रले १० ओभरमा दुई मेडन राख्दै ३० रन दिए । अरू बलरको प्रदर्शन उल्लेख्य बन्न सकेन ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।
लिग–२ को पहिलो शृंखलामा खराब नतिजाको आत्मसात् गरेको नेपाल यसअघि नामिबियासँग सुरुआती खेलमा चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल पुनः नामिबियासँग दुई विकेटले पराजित भएको थियो ।
चार खेलबाट दुई अंकको नेपाल तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट तीन जितसहित ६ अंक जोडेको नामिबिया शीर्ष स्थानमा छ । चार खेलबाट दुई अंककै नेदरल्यान्ड्स दोस्रो स्थानमा छ ।
लिग–२ २०२४–२७ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्स, क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई) र अमेरिका छन् ।