सारांश
काठमाडौं । अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल पुरस्कार जितेका हुन् ।
पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।
यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।
प्रतियोगितामा बलराम थापाले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे । महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् । क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ जना पुरुष र १० जना महिला गरी कुल ११७ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।