सारांश
काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।
बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाएको थियो । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को सहज अवस्थामा पुर्याएको थियो ।
यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यस समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।