सारांश
काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवास्थित होटल सिद्धार्थ भिलासाले पाँचतारे होटलको मान्यता पाएको छ ।
पर्यटन विभागले हालै उक्त होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी पाँचतारे मान्यता दिएको कम्पनीले जनाएको छ ।
करिब पाँच बिघा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भीएक्जिक्युटिभ स्विट, दुई स्विट, पाँच जुनियर स्विट र ७७ एक्जिक्युटिभ डिलक्स गरी ८५ कोठा छन् ।
होटलमा साना–ठूला गरी पाँच कन्फ्रेन्स हल र पाँच रेस्टुरेन्ट छन् । होटलमा १ हजार ५ सय सिट क्षमताको ब्यांक्वेट हल छ जुन नेपालकै ठूलो ब्यांक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरी त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको उनले बताए । लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकमा स्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेलनेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन भएपछि झन्डै ५ सयलाई रोजगारी मिल्ने सीईओ न्यौपानेले बताए ।