Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

लाकेशको शतकका बाबजुत आयरल्यान्ड वुल्भ्ससँग हार्‍यो नेपाल ए


सारांश

लाकेशको शतकका बाबजुत आयरल्यान्ड वुल्भ्ससँग हार्‍यो नेपाल ए
images

काठमाडौं । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा ६ विकेट गुमाएपछि आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमात्र बनाउन सक्यो । जितनजिक पुगेर हार बेहोर्दा नेपाली टिमबाट उत्कृष्ट ब्याटिङ गरेको लोकेश बमको शतक खेर गएको छ ।

१६ ओभरमा १८९–४ रनको सहज अवस्थामा रहे पनि यसपछि लगातार विकेट जाँदा नेपालले खेल गुमाएको हो । अन्तिम चार ओभरमा ३४ रन आवश्यक हुँदा नेपालले १६ ओभरपछि बाउन्ड्री नै प्रहार गर्न सकेनन् ।

वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका निकालेको हो ।

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । तालिकाअनुसार, नेपाल र वुल्भ्सले शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij