सारांश
काठमाडौं । नाटकीय अन्तिम ओभरमा खेल आफ्नो पक्षमा पार्दै नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा तीन रनको साँधुरो जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा वुल्भ्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो । नेपालको यो जितसँगै तीन खेलको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले आफ्नो पक्षमा पारेको छ ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि अन्तिम खेलअगावै जितिसकेको थियो । यसअघि वुल्भ्सले नेपाल ‘ए’लाई पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले हराएको थियो । अब यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।
एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।