काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटमा नेताहरूका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ ।
नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरू पेस गर्न भनिएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयको झन्डै ८० प्रतिशत राष्ट्रिय खेलकुद परिषद् राखेमार्फत खर्च हुने भएकाले अहिले राखेपले योजनाहरू बनाइरहेको छ ।
युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने राखेपले नयाँ आर्थिक वर्षमा नेताहरूका नाउँमा आयोजना हुने प्रतियोगिताहरूका लागि कुनै पनि बजेट नदिने नीति लिएको खेलकुद मन्त्री विराजभक्त श्रेष्ठका स्वकीय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
गत वर्ष मदन भण्डारी स्मृति खेलकुद प्रतियोगिता सञ्चालन गर्न मदनभण्डारी स्पोर्टस एकेडेमीलाई ५० लाख, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन अनुदान ५० लाख, साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता ७ लाख, गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताका लागि ७ लाख, प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिताका लागि १५ लाख, रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट विनियोजन गरेको थियो ।
यसरी नेता तथा विभिन्न व्यक्तिका नाउँमा प्रतियोगिता आयोजना हुँदा झन्डै डेढ करोड भन्दा माथिको बजेट खर्च हुने गरेको थियो ।