सारांश
काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।
कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई फेहरिस्त बताए ।
डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भने– मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु ।”