Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बर्लिन कार्निवलमा सर्वोत्कृष्ट बन्यो ‘इनास सम्सारा’


सारांश

बर्लिन कार्निवलमा सर्वोत्कृष्ट बन्यो ‘इनास  सम्सारा’
images

काठमाडौं । मे १७ देखि २० सम्म जर्मनीको राजधानी बर्लिनमा आयोजित कार्निवलमा नेपालको ‘इनास सम्सारा’ टोली पहिलो बन्न सफल भएको छ । नेपाली टोलीले एक हजार युरो नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्निवलमा ५८ देशका ५००० भन्दा बढी कलाकारहरुले सडकमा नै घन्टौं नृत्य गरेका थिए । ५ लाख भन्दा बढी दर्शकले सडक किनाराबाट अवलोकन गरेका थिए ।

436153678_752180000126387_8221250746875558181_n.jpgइनास जर्मनी र सम्सारा बर्लिन दुवै संस्थाले मिलेर ‘इनास सम्सारा’ को नाममा नेपालको प्रतिनिधित्व गरेका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै ३२ जना कलाकारहरू विभिन्न वेषभूषामा सजिएका थिए । जातीय भेषभूषामा, बाजागाजा र झाँकीसहित संगीतकर्मी र स्वयंसेवक गरी सयौंको संख्यामा थिए नेपालीहरू । 

436355577_1203879007688967_80226130975125909_n.jpgनृत्यमा थारु, गुरुङ, नेवार, बाहुन, क्षेत्री, तामाङ, शेर्पा, राईलगायत विभिन्न जातजातिको वेषभूसा झल्किएको थियो । सन् २०११ देखि कार्निवलमा सहभागिता जनाउदै आएको नेपाल अन्तत : यो वर्ष सर्वोत्कृष्ट बन्यो।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले कार्निवलमा ‘सुन्दर शान्त विशाल’ को थिम नेपालले प्रस्तुत गरेको बताए । ‘विविधतालाई हामीले एकताको स्रोतको रुपमा लिन्छौं । विश्व समुदाय माझ कलामार्फत पनि त्यही सावित गरेको छौं’, उनले भने । प्रस्तुतिमा एनआरएनए जर्मनी, नेपाल पर्यटक बोर्ड र नेपाली राजदूतावास जर्मनीले सहयोग गरेका थिए ।

436259053_968819877886400_2272520108337077298_n.jpg

इनास जर्मनीकी अध्यक्ष लेजुना श्रेष्ठले मेहनतको फल आफूहरुले प्राप्त गरेको बताइन् । ‘सबैको समय मिलाएर ठूलो ग्रुपमा डान्सको तयारी गर्न ठूलो चुनौती थियो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘सम्सारा बर्लिनकी प्रतिनिधि अनिता मोक्तान बहिनी र मैले नै नृत्यको कोरियोग्राफ गरेका हौं ।’

436660536_3686262868327830_3483365228647251874_n.jpg
इनास जर्मनी अध्यक्ष लेजुना श्रेष्ठ

बर्लिनको केन्द्रभागको सडकमा गरिएका नृत्यहरु अहिले सामाजिक संजालमा भाइरल बनेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म परदेशमा नेपालको सामूहिक नृत्य निकै रुचाइएको छ । नेपालदेखि डायस्पोरामा रहेका नेपालीले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij