सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमले संस्थाको नामजस्तै नेपाली कला, संस्कृति र भेषभुषा अन्तर्राष्ट्रिय बजारमा गजबले प्रस्तुत गरेको छ।
नेपाली संस्कृति, नेपाली खाना र हस्तकला सामग्रीको प्रबर्द्धन गर्ने उद्देश्यले बेल्जियमको ल्युभेनमा आयोजित नेपाली फुड फेस्टिभल २०२४ मा इनास बेल्जियमका कलाकारहरुले सयौंको संख्यामा नेपाली भेषभुषामा सजिएर नेपाली संस्कृतिको प्रतिनिधित्व गरेका छन् ।
बिहान १२ बजे शुरु भएको मनोरन्जनात्मक कार्यक्रम बेलुका ८ बजे सम्म चलेको थियो ।जसको संयोजन इनास बेल्जियमले गरेको थियो।
उक्त कार्यक्रममा करिब ५० वटा साँस्कृतिक प्रस्तुतिहरु, नेपाली फेसन शो, साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको बेल्जियम निवासी इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्लेले जानकारी गराए ।
उक्त कार्यक्रममा नेपाली खाना साथै नेपाली सामानहरु राखिएको उल्लेख गर्दै उपाध्यक्ष काफ्लेले थपे, "यो फेष्टिबलमा इनास बेल्जियमले तारिफयोग्य काम गरेको छ।"
५००० भन्दा बढिको उपस्थिति रहेको सो कार्यक्रमलाई बेल्जियमका स्थानीय सन्चार माध्यमहरुले पनि उत्साहका साथ प्रचार गरेका छन्।
बेल्जियमको ल्युभेनमा आयोजना भएको यो कार्यक्रम २०१९ र २०२२ पछिको तेस्रो संस्करण हो, जसलाई नेपाली व्यवसायी संगको सहकार्यमा इनास बेल्जियमले आयोजना गर्दै आएको छ।