Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित


सारांश

टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित
images

काठमाडौं ।  म्याक्स ओ‘डोडको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित निकालेको छ ।

मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओ‘डोडले ५४ रन बनाए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओ‘डोडले ४१ रनमा खेलिरहँदा सोमपाल कामीले गरेका १७.२ ओभरमा जीवनदान पाएका थिए । उनको सहज क्याच नेपालका कप्तान रोहितकुमार पौडेलले छुटाएका थिए ।

यसबाहेक, डच टिमको जितमा विक्रमजित सिंहले २२, साइब्रान्ड एन्गलब्रेटले १४ र बास डे लिडेले अविजित ११ रन बनाए ।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो । 

डच टिमविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्को एन्ड सम्हालेका रोहितले ३७ बलमा पाँच चौका प्रहार गरे । 

नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १२ बलमा दुई छक्कासहित १७ रन बनाए । गुल्सन झाले १४ रन थप्दा अनिलकुमार साहले ११ रन जोडे ।

नेपालका ओपनरद्वय आसिफ सेख चार र कुशल भुर्तेललाई सात रनमा आउट भए । यस्तै, कुशल मल्ल चार रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए । अभिनाश बोहरा ‘गोल्डेन डक’ हुँदा सागर ढकाल शून्यमा अविजित रहे ।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान बिकले समान तीन विकेट लिए । पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए । 

प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij