सारांश
एजेन्सी । बंगलादेशविरुद्ध आठ रनको जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको हो । विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
मंगलबार किंग्सटाउनमा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । तर, वर्षाका कारण बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।
बंगादेशलाई जितका लागि अन्तिम दुई ओभरमा १२ रन आवश्यक थियो । अफगानिस्तानबाट १८औँ ओभरमा बलिङका लागि आएका नवीन उल हकले सुरुआती तीन बलमा लगातार तीन रन खर्चिएका थिए । तर, चौथो बलमा बंगलादेशका ताक्षिन अहमेदको विकेट लिँदै नवीनले अफगानिस्तानको सम्भावना कायमै राखेका थिए ।
बंगलादेशबाट अन्तिम ब्याटरका रूपमा मैदान आएका मुस्ताफिजुर रहमानलाई पनि नवीनले पाँचौँ बलमा एलबीडब्लूलको धरापमा पारेपछि अफगानिस्तानले ट्वान्टी–२० विश्वकपमा नयाँ इतिहास बनाएको हो ।
जितसँगै अफगानिस्तान सुपर–८ को समूह–१ बाट दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अफगानिस्तानले तीन खेल खेल्दा चार अंक जोडेको छ । अफगानिस्तानको जितले सन् २०२१ को विश्वकप विजेता अस्ट्रेलिया भने सुपर–८ बाटै बाहिरिएको छ । तालिकाको तेस्रो स्थानमा सीमित बनेको अस्ट्रेलियाले तीन खेलबाट दुई अंकमात्र जोड्न सक्यो । तालिकाको पुछारमा रहेको बंगलादेश भने सुपर–८ मा जितविहीन रह्यो । अफगानिस्तानले अब फाइनल प्रवेशका लागि समूह–२ को विजेता दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।