सारांश
एजेन्सी । इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ ।
भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो ।
बिहीबार गुयनामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।
वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो । प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका थिए ।
भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ ।