सारांश
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औँ संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच सम्झौता भएको छ ।
सम्झौतामा गोल्छा ग्रुपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ ।
यो वर्ष स्पोर्टस अवार्डसँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो । खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो । उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ ।