सारांश
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको हो ।
योसँगै एपीएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पायो । सुदूरपश्चिम उपविजेता हुँदै तीन लाख रुपैयाँ हात पार्यो ।
६८ रनको विजयी लक्ष्य एपीएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटिएको थियो ।
यही माघ १ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।