सारांश
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
सन्न्यास लिनेबारे शनिबार नै कोहलीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी दिइसकेको भारतीय सञ्चारमाध्यमले खुलाएका छन् ।
कोहलीले भारतीय टेस्ट क्रिकेटमा सचिन तेन्दुुल्कर, राहुल द्रविड र सुनील गाभास्कारपछि चौथो सर्वाधिक रन बनाउने खेलाडीमा दर्ज भएर सन्न्यास घोषणा गरे । हालसम्म भारतबाट टेस्ट क्रिकेटमा सचिनले १५ हजार ९२१, राहुलले १३ हजार २६५ र सुनिलले १० हजार १२२ रन बनाएका छन् ।
सन्न्यास घोषणा गर्दै कोहलीले सामाजिक सञ्जालमा लेखे, “मैले पहिलोपटक टेस्ट क्रिकेटमा भारतीय जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदारीपूर्वक भन्नुपर्दा मैले यो ढाँचामा यति लामो यात्रा कल्पना पनि गरेको थिइनँ । यो ढाँचाले मेरो परीक्षा लिएको छ । मलाई एक तहसम्म अनुभवी बनाएको छ । मलाई धेरै सिकाएको छ । जुन म जीवनभरि अँगाालेर हिँड्नेछु ।”
१४ वर्षे टेस्ट क्रिकेटको करियरमा रमाएका कोहली यो संरचनामा भारतीय टोलीका सफल कप्तानमध्येका एक हुन् ।