सारांश
१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको घुइँचो बसपार्क क्षेत्रमा अचाक्ली बढेको छ । टिकट पाउने आशमा यात्रुहरु ठेलमठेल गर्दै घण्टौं लाइनमा बसेका छन् । तै पनि टिकट पाउने टुंगो हुँदैन ।
नेपालगञ्जको टिकट लिन लाइनमा बसेका सन्देश पौडेलले चार घण्टासम्म लाइनमा बस्दा पनि टिकट नपाएको बताए । ‘ठ्याक्क मेरो पालो आएको थियो, काउन्टरका मान्छेले टिकट छैन भने,’ उनले सुनाए ।
टिकट काट्ने स्थानमामा जानु अगाडिको साँघुरो ढोकामा प्रहरीहरु तैनाथ छन् । उनीहरु यात्रुहरुलाई सोधपुछ गरेर मात्र भित्र जान दिन्छन् । भित्र प्रवेश गर्नेहरुको त्यहीँ ठेलमठेल हुन्छ । महिला, पुरुष, युवा, वृद्ध सबै एउटै लाइनमा छन् । बाग्लुङ जाने टिकटका लागि लाइनमा बसेकी एक युवतीले महिलाहरुका लागि अलग्गै लाइन भइदिएको भए यति साह्रो सास्ती भोग्न नपर्ने अनुमान गरिन् ।