सारांश
काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ फागुन २३ गते गर्ने भएको छ ।
एनएसजेएफले २०६० सालदेखि निरन्तर आयोजना गर्दै अवार्डको यो १९औँ संस्करण हो । २०७८ भर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम यस वर्ष काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्ने एनएसजेएफका महासचिव प्रज्ज्वल ओलीले बताए ।
अवार्ड कार्यक्रमलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गरेको छ । सोमबार नै एनएसजेएफ र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिबीच मुख्य प्रायोजनका लागि थप पाँच वर्षका लागि नयाँ सम्झौता भएको छ । सम्झौता पत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र हंशराज हुलासका तर्फबाट प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन् ।
यस वर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट खेलाडी युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेका छन् ।