सारांश
काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबको महिला टिमले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
साविक विजेता एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलमा पहिलो सेट २५–२० ले जितेको थियो । तर एपीएफले दोस्रो सेट भने २२–२५ ले आर्मीलाई सुम्पियो । त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै एपीएफले आर्मीलाई २५–८ र २५–२२ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको एपीएफले नगदसहित पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको आर्मीले दुई लाख पाँच हजार रुपैयाँ पाएको छ ।
आजै भएको खेलमा घरेलु टिम गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले एक लाख २५ हजार र चौथो भएको गण्डकीले ६५ हजार रुपैयाँ पाएका छन् ।