सारांश
तालिम प्राप्त कुकुरको सहयोगले प्रहरीले मंगलबार स्थानीय जंगलमा रोशनी महतरा र शरदले प्रयोग गर्ने मोबाइल फेला पारेको थियो । घटना अनुसन्धानमा सहयोग पुगोस् भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ ।
दाङ । तुलसीपुरमा किशोर–किशोरी हत्या प्रकरण अनुसन्धानका क्रममा प्रहरीले बुधबार बिहान थप एक जनालाई पक्राउ गरेको छ । हत्या गरेर एकैसाथ पुरिएको अवस्थामा फेला परेकामध्ये १४ वर्षीय शरद आचार्यका मिल्ने साथीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
शरद र पक्राउ गरेका व्यक्तिले एउटै फेसबुक आईडी प्रयोग गरेको तथ्य पत्ता लागेपछि उनलाई पक्राउ गर्नु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
“एउटै फेसबुक दुई जनाले सँगसँगै चलाएको पाइयो,” ती प्रहरी अधिकारीले भने, “कतै उनैले शरदका गोप्य सूचना लिक गरे कि भन्ने आशंका उब्जिएको छ ।”
तालिम प्राप्त कुकुरको सहयोगले प्रहरीले मंगलबार स्थानीय जंगलमा रोशनी महतरा र शरदले प्रयोग गर्ने मोबाइल फेला पारेको थियो । घटना अनुसन्धानमा सहयोग पुगोस् भनेर बाँकेको कोहलपुरबाट असोज ३० गते तालिम प्राप्त कुकुर तुलसीपुरमा ल्याइएको छ ।
ती दुवै मोवाइलहरु अनुसन्धानका लागि काठमाडौं पठाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताए । ती मोबाइलको अध्ययनले घटना अनुसन्धान थप सजिलो हुने प्रहरीको विश्वास छ ।
‘पोलिग्राफ टेस्ट’ गर्दै प्रहरी
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा हत्या गरिएको अवस्थामा किशोर किशोरीको शव भेटिएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पक्राउ परेका केहीमाथि पोलिग्राफ टेस्ट गर्न लागेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले पक्राउ परेकाहरुमध्ये दुई जनामाथि बुधबार पोलिग्राफ टेस्ट गर्न थालिएको जानकारी दिए । प्रहरीले मंगलबार नै पोलिग्राफ इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याइसकेको थियो ।
रोशनी र शरदको शव फेला परेको दिन असोज ३० गते पक्राउ परेका हेटौँडाका टिपर चालक र उनको बयानका आधारमा पक्राउ परेका सल्यानका उनका साथीमाथि पोलिग्राफ टेस्ट गरिने प्रहरीले बताएको छ । पोलिग्राफ टेस्टको प्रयोगपछि उनीहरुले झुट बोले नबोलेको पत्ता लगाउन सहज हुने प्रहरी अधिकारीको विश्वास छ ।
गत असोज ३० गते १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्य स्थानीय जंगलको चिरोमा हत्यापछि शव माटोले पुरेको अवस्थामा फेला परेका थिए ।
रोशनी र शरद २७ गते राति बेपत्ता भएका थिए । शरदकी मावली हजुरआमाले २८ गते स्थानीय दमारगाउँ प्रहरी चौकीमा नाति हराएको बारे निवेदन दिएकी थिइन् । उनीहरुको शव तीन दिनपछि असोज ३० गते एकै ठाउँमा चिरोमा फालेको अवस्थामा फेला परेको थियो ।
कात्तिक १ गते उनीहरुको शव तुलसीपुर–१२ सितलपुरस्थित बबई नदी घाटमा एकैसाथ अन्तेष्टि गरिएको थियो ।