Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ


सारांश

रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ
images

रामेछाप ।  रामेछाप जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको हो ।

कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सेवा प्रदायक कार्यालयहरूले गर्ने सबै काम पारदर्शी हुनुपर्नेमा जोड दिए । उनले विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूलाई स्थानीय तहसँग समन्वय गरेर योजनाहरू कार्यान्वयन गर्न आग्रह गरे।

प्रजिअ थापाले सेवा प्रवाह गर्ने निकायहरूको उत्तरदायित्व अभिवृद्धि गर्नु र नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने वातावरण निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए। उनले जिल्लाका सबै सरकारी कार्यालयहरूलाई अनिवार्यरूपमा सार्वजनिक गर्नुपर्ने सूचना समयमै प्रकाशित गर्न निर्देशन पनि दिए।

कार्यक्रममा पत्रकार तथा नागरिकले विभिन्न कार्यालयको कार्यसम्पादन, सेवा गुणस्तर र सुशासनका विषयमा प्रश्न उठाएका थिए। सहभागीहरूले राखेका जिज्ञासाहरूको सम्बन्धित कार्यालय प्रमुखहरूले जवाफ दिएका थिए।

यसअघि पनि रामेछापमा अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको थियो। सार्वजनिक सुनुवाइमार्फत सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij