Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गाईजात्रा ‘प्राइड परेड’मा नाजिर हुसेनदेखि मन्त्रीसम्म


सारांश

गाईजात्रा ‘प्राइड परेड’मा नाजिर हुसेनदेखि मन्त्रीसम्म
images

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ ।

अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले आयोजना गरेको परेडमा नाजिरले आफ्नो आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’ को बारेमा उक्त समूदायका व्यक्तिहरुलाई जानकारी समेत गराएका थिए ।

काठमाडौंको नक्साल नारायणचौरमा भेला भएका समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका थिए । उनीहरुले नाजिरसँग सेल्फी एवम तस्विरहरु खिचेर रमाइलो गरेका थिए ।

चलचित्र ‘गुन्यु चोलो ःद ड्रेस’ तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्षमा बनेको फिल्म भएको नाजिरले सुनाएका थिए ।

समूदायका व्यक्तिहरुसँग कुरा गर्दै उनले भने, ‘यो एकदमै मेरो लागि इमोसनल जर्नी हो । सुनौलो अवसर पनि हो । धेरैले मायालाग्दो भन्छन् तर यो एकदमै स्ट्रङ ईस्यू हो भन्छु । ‘गुन्यु चोलो ःद ड्रेस’ ले उठाउन खाजेको एउटै कुरा भनेको समूदायका व्यक्तिहरु सबैजना राम्रो हुनुहुन्छ, स्ट्रङ छन् भन्ने देखाएका छौं ।’

फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको महत्वपूर्ण भूमिका छ ।

यसैगरी ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष उमेश पाण्डे(उमिसा)ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरु पिछडिएको जानकारी दिए । ‘समूदायका व्यक्तिहरुलाई आफ्नो आमाले त बुझ्दैन भने समाज र राष्ट्र त कति धेरै टाढा छ । जसको कारण अपमानित भएर धेरै जनाले आत्महत्या गर्नुपरेको छ । उनीहरुको चिर शान्तिको लागि गाईजात्रा निकालेका हौं,’ उनको भनाइ थियो ।

उनले भने, ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेका छौं । गाईजात्रा २००१ देखि नै मनाउन थालेका हौं ।’

आइतबारको प्रदर्शनमा बर्षभरी दिवगंत भएका आफ्ना समूदायका व्यक्तिहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गरिएको थियो ।

विभिन्न दातृ निकायहरुको सहयोगमा आयोजना गरिएको प्राइड परेड यात्रा काठमाडौंका नारायण चौरबाट सुरु भएर दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै बसन्तपुरमा पुगेर दिप प्रज्वलन र मौन धारण गरी समापन भएको थियो ।

कार्यक्रममा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समूदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । जात्राका क्रममा समूदायका व्यक्तिहरुले गरेको प्रदर्शनको उनले चाखपूर्वक हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij