Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाका मुद्दाबारे वहस


सारांश

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाका मुद्दाबारे वहस
images

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ सोमबार सम्पन्न भएको छ ।

देशभरका विभिन्न जाति, लिङ्ग, भाषा, भौगोलिक क्षेत्र र पहिचानका डेढ सयभन्दा बढी युवाको सहभागितासहितको यो कार्यक्रम अन्तरक्रिया, कार्यशाला र सृजनात्मक प्रस्तुतिले भरिएको उत्सवका रूपमा मनाइएको हो।

कार्यक्रमको उद्घाटन बृधिका सेञ्चुरीको स्वागत मन्तव्यसँगै भएको थियो। मुसहर समुदायबाट पहिलोपटक चिकित्सक बन्न सफल डा.स्मृति हरिजनले की–नोट भाषण दिँदै सीमान्तकृत समुदायका युवाका लागि आफ्नो जीवनयात्रा, संघर्ष र उपलब्धिबारे प्रेरणादायी सन्देश दिइन् ।

‘सपना, संघर्ष र सफलता’ शीर्षकमा भएको प्यानल छलफलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा, अभिनेता नाजिर हुसेन, मधेश प्रदेश सरकारका उपसचिव सुनिल कुमार पासमान र डिसएबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीका क्षेत्रमा सक्रिय अभियन्ता महेन्द्र पाण्डेले पनि सीमान्त आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै भारतका प्रख्यात सामाजिक अभियन्ता तथा रामोन म्यागसेसे पुरस्कार विजेता बेजवाडा विल्सन र चर्चित लेखक सीके लालले विशेष मन्तब्य दिएका थिए ।

कार्यक्रममा युवाद्वारा तयार गरिएको ‘युथ डिक्लेरेशन’ प्रस्तुत र अनुमोदन गरिएको थियो । समापन सत्रमा सारंगीवादक किरण नेपालीको समूह र महिलाहरूको ब्याण्ड ‘कासा’ ले सांगीतिक प्रस्तुति दिएका थिए।

साथै, चार कलाकारले एउटै क्यानभासमा चित्रकला प्रदर्शन गर्दै विविधता र एकताको सन्देश प्रेषण गरे ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले ‘डाइभर्सिटी कार्निभल’लाई विविधता र समावेशीताको अभ्यासका रूपमा वर्णन गर्दै यसबाट सिमान्तकृत युवाको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने लक्ष्य रहेको बताए । उनका अनुसार, छलफल र कार्यशालाबाट आएका निष्कर्ष र सुझावहरू सम्बन्धित निकायमा पेश गरिनेछ ।

संस्थाले यस कार्यक्रमले युवालाई जातीय असमानता, भेदभाव र प्रतिकूलताविरुद्ध बोलेर, सुनेर र सिर्जनात्मक रूपमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij