सारांश
काठमाडौं । बलिउडका सर्वाधिक सफल गीतकार समीरलाई नेपालमा अभिनन्दन गरिएको छ।
विश्वमै सबैभन्दा धेरै गीत लेखेर गिनिजबुक अफ वर्ल्ड रेकर्ड मा नाम दर्ज गराएका कीर्तिमानी भारतीय गीतकार समीरलाई आज काठमाडौंमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपाल द्वारा आयोजित ‘समीर अभिनन्दन समारोह’ मार्फत अभिनन्दन गरिएको हो।
समारोहका प्रमुख अतिथि पूर्व मन्त्री एवं गीतकार शंकरप्रसाद कोइरालाले समीरले सरल शब्दमा गहन गीतहरु लेखेको उल्लेख गरे।
हाम्रा पालाका सबैभन्दा सफल गीतकार समीर हुन भन्दै नेपाली ढाका टोपी लगाईदिएका थिए। उनले समिरलाई पोखरा घुम्नका लागि समेत आग्रह गरे।
समीर सङ्गै समारोहमा उनकी श्रीमती अनिता पाण्डेयलाई समेत नेपाली सल ओढाएर सम्मानित गरिएको थियो।
अभिनन्दन समारोहमा बोल्दै गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिको यो भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताए।
काठमाडौँ उत्रिने क्रममा आउँदा एउटा गीत फुरेको अनुभूति सुनाउदै नेपालबाट आफुले धेरै सिकेर र लिएर जाने बताए । उनले काठमाडौँ ल्याण्ड गर्नु पूर्व हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरीसकेको बताउदै सो गीतलाई शंकर महादेवनले संगीतबद्द गरेको भन्दै समारोहमै गुनगुनाएर सुनाए।
समीरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर बिश्व रेकर्ड राखेका छन्।
गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।
समारोहमा बोल्दै गीतकार तथा साहित्यकार वसन्त चौधरीले समिर अन्जान विश्वका सबै कुनामा बस्ने हिन्दी चलचित्र र गीत मन पराउनेहरुका लागी समीर अन्जान नभएको बताए।
त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको भन्दै सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद व्यक्त गरे।
सो समारोहमा गीतकार दिनेश अधिकारी, डा. भोला रिजाल देखि दयाराम पाण्डेय, बी. पाण्डेसम्म र संगीतकारमा शम्भुजीत बासकोटा, शक्तिबल्लभ देखि लक्ष्मण शेष, चेतन सापकोटासम्म र गायकमा सत्य-स्वरुप आचार्य लगायतको उपस्थिति थियो।